घर छाडेका नागरिक साढे ४४ लाख, २२ लाख विदेशमा : तथ्याङ्क कार्यालय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

घर छाडेका नागरिक साढे ४४ लाख, २२ लाख विदेशमा : तथ्याङ्क कार्यालय


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेपालमा घर छाडेका नागरिकको जनसङ्ख्या साढे ४४ लाख जना रहेको देखिएको छ । जनमध्ये २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार घरमा अनुपस्थिति जनसङ्ख्या ४४ लाख ५७ हजार ८२८ जना रहेको देखिन्छ । यो कुल जनसङ्ख्याको १५.३ प्रतिशत हो ।

सहरभन्दा ग्रामीण भेगबाट धेरै नेपालीले घर छाडेको तथ्याङ्कमा देखिन्छ । घर छाडेको जनसङ्ख्यामध्ये २२ लाख ६७ हजार २३६ जना मुलुकभित्रै एक स्थानबाट अर्को स्थानमा लामो समय बसिरहेको देखिएको छ । २१ लाख ९० हजार ५९२ जना नेपाली भने विदेशमा रहेको तथ्याङ्क छ ।

कार्यालयले २०७८ सालको जनगणनाका थप तथ्याङ्कहरू आइतबार सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार सबैभन्दा धेरै हिमाली र पहाडी भेगबाट घर छाड्नेहरू देखिन्छन् ।

तराईबाट ११ प्रतिशतले घर छाड्दा हिमालबाट २१।६ र पहाडबाट २०.३ प्रतिशत घरमा ६ महिना भन्दा लामो समय नबसेको देखिएको छ । घर छाड्नेमा पुरुषको जनसङ्ख्या महिलाको तुलनामा धेरै देखिन्छ । विदेश जानेको संख्या अघिल्ला जनगणनाहरूको तुलनामा क्रमशः बढ्दै गएको समेत देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस