महिन्द्रराय र उमरावती माओवादीकै सांसदका रूपमा अभिलेखमा रहन्छन् : संसद सचिवालय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महिन्द्रराय र उमरावती माओवादीकै सांसदका रूपमा अभिलेखमा रहन्छन् : संसद सचिवालय


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । संघीय संसद सचिवालयले डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीलाई सो पार्टीका अर्का अध्यक्ष एवम् सांसद महिन्द्र राय यादव र समानुपातिक तर्फबाट निर्वाचित सांसद उमरावती देवी नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य रहेको पत्र पठाएको छ।

संसद सचिवालयका उपसचिव रामहरी थापाले फागुन २७ गते पठाएको पत्रमा उनीहरूलाई समाजवादी पार्टीको सांसदका रूपमा अभिलेख कायम गर्न नसकिने उल्लेख छ। 

समाजवादी पार्टीले यादव र देवीलाई आफ्नो दलको सांसदका रूपमा अभिलेख कायम गरिदिन २०८० माघ २८ गते पत्र लेखेको थियो। 

सम्बन्धित समाचार : आफ्ना सांसदलाई माओवादीमा नराखिदिन डा. बाबुराम भट्टराईले दिए आयोगमा निवेदन

पत्रको एक महिनापछि जवाफ पठाउँदै संसद सचिवालयले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ को उपदफा ३ बमोजिम नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य नै रहेको जनाएको हो।

राजनीतिक दल सम्बन्धी ऐनको उक्त दफामा एकल चुनाव चिन्ह लिई दुई भन्दा बढी दलले निर्वाचनमा भाग लिएमा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुने र अन्य सांसदहरू सोही संसदीय दलको सांसद हुने व्यवस्था छ। 

बाबुराम भट्टराई नेतृत्वको पार्टीले नेकपा माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडा चिन्हबाट निर्वाचनमा भाग लिएको थियो। यादवले माओवादीकै चुनाव चिन्हबाट प्रत्यक्ष निर्वाचन जितेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस