एकीकृत समाजवादीद्वारा दस्ताबेज लेखन मस्यौदा समितिको बैठक आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीद्वारा दस्ताबेज लेखन मस्यौदा समितिको बैठक आह्वान


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले दस्ताबेजका मस्यौदामाथि छलफल गर्न आगामी चैत १ गते दस्ताबेज लेखन मस्यौदा समितिको बैठक आह्वान गरेको छ।

आगामी जेठमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि दस्ताबेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो।

पछिल्लो सत्ता समीकरणपछि विकसित राजनीतिक घटनाक्रमलाई पनि दृष्टिगत गर्दै दस्ताबेज लेखनलाई केही परिमार्जन गरिने पार्टीले जनाएको छ।

वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिने जनाइएको छ। बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिने छ।

पार्टीको वैचारिक, साङ्गठनिक, समाजवादी कार्यक्रम, विधान, भावी कार्य योजना तथा रणनीतिलगायत विषयलाई उल्लेख गर्ने गरी यही फागुन मसान्तभित्र लेखनको कार्य सम्पन्न गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिइएको छ भने सम्मानित नेता झलनाथ खनाललाई समाजवादी कार्यक्रम, उपाध्यक्ष डा. बेदुराम भुसाललाई पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्ताव संयोजनका लागि कार्य तोकिएको छ।

सबै पक्षलाई समेटेर प्रतिवेदन तयार भएपछि त्यसलाई एकीकृत गरेर महाधिवेशनमा एउटै दस्ताबेज लैजाने जनाइएको छ। महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तार कार्य जारी राखेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस