काठमाडौँ । नेपालमा सञ्चालित १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण आगामी जुलाईबाट हुने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सर्तअनुसार यो लेखापरीक्षण हुन लागेको हो ।
स्रोतका अनुसार नेपाली बैंकको अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता बढाउन लेखापरीक्षण गर्न लागिएको हो । आईएमएफसँग लिएको विस्तारित कर्जा सुविधा सर्तहरूमध्ये यो प्रमुख सर्त हो । विदेशीले गर्ने बैंकहरूको लेखापरीक्षणमा विदेशीले नै खर्च गरून् भन्ने पक्षमा राष्ट्र बैंक थियो । तर, दाता नभेटेपछि राष्ट्रकै खर्चबाट हुने स्रोतले जानकारी दिएको छ ।
मुद्रा कोषले विभिन्न सर्त राखेर ३६ महिने सुधार कार्यक्रम गरिरहेको छ । त्यसैअन्तर्गत १० वाणिज्य बैंकको लेखापरीक्षण गर्न लागिएको हो । एउटा कारण आईएमएफको सर्त भए पनि राष्ट्र बैंकको आन्तरिक कार्यक्रममा पनि बढी चुक्तापुँजी, कर्जा प्रवाह र नाफा भएका बैंकहरूको लेखापरीक्षण गर्ने कार्यतालिका छ ।