मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आगलागी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आगलागी


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आज बिहान ५ बजेदेखि सुरु भएको आगलागी भएको छ । आगलागी अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी हुँदा उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरु जलेका छन् । मेचीनगर-१५ का वडाध्यक्ष राजन भट्टराईका अनुसार सोमबार बिहान ५ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

उद्योगमा विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेक्टर रोहित शर्माले बताए । अहिले उत्तर र पूर्वतिर आगो नियन्त्रण भएको छ भने उद्योगको पश्चिमतिर अझै पूर्ण रूपमा आगो नियन्त्रण लिन नसकिएको प्रहरीको भनाई छ । आगो पूर्ण रूपमा नियन्त्रणमा आउन आज दिनभरि लाग्न सक्ने अनुमान शर्माको छ ।

शर्माका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । झापाका ७ वटा स्थानीय तहका बारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन् । उनका अनुसार अब मोरङदेखि थप दमकल मगाइएको छ ।

यो समाचार तयार पार्दै गर्दा भारतबाट समेत दमकल बोलाइएको छ । भारतको नक्सलबारीबाट दमकल घटनास्थलतर्फ आउँदै गरेको मेचीनगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमियाले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस