अर्थमन्त्री पुन र बेलायती अधिकारीबीच भेट, नेपालमा लगानी सम्भावनाबारे छलफल    « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अर्थमन्त्री पुन र बेलायती अधिकारीबीच भेट, नेपालमा लगानी सम्भावनाबारे छलफल   


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । बेलायतले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेको छ ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग आइतबार सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा बेलायतको विदेश तथा कमन वेल्थ विकास कार्यालयका निर्देशक बेन मिलरले त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भेटमा मिलरले नेपालमा आगामी वैशाखमा हुने लगानी सम्मेलन सफल र उपलब्धिमूलक बनाउन बेलायत सरकारका तर्फबाट पूर्णसहयोग हुने बताए ।

लगानी सम्मेलन सफल पार्न लगानीमैत्री वातावरण निर्माण, नीतिगत र प्रक्रियागत सुधार, दोहोरो करमुक्त सम्झौता तथा ‘सार्वभौम रेटिङ’ जस्ता काम पूरा गर्न उनले आग्रह गरे । बेलायतले नेपालको लगानी सम्मेलनलाई यसअघि नै समर्थन जनाइसकेको छ ।

जवाफमा मन्त्री पुनले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि गर्नुपर्ने सबै कामका लागि तयार रहेको बताए । त्यसका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत सुधारका काम अघि बढाइसकेको उल्लेख गरे ।

निजी क्षेत्रको लगानी विस्तार र आर्थिक गतिविधि बढाउने तथा युवा लक्षित रोजगारीका कार्यक्रममा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ थियो ।

मन्त्री पुनले नेपाल र बेलायतबीच दुई शताब्दी पुरानो मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउन वर्तमान सरकार लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस