छ महिनामा ११७ किलोमिटर कालोपत्रे सडक थप « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

छ महिनामा ११७ किलोमिटर कालोपत्रे सडक थप


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा सञ्चालित नीति तथा प्रमुख कार्यक्रमहरूको २०८० पुस मसान्तसम्मको प्रगति प्रतिवेदन अनुसार सो अवधिमा दुई लेन र चार लेनका गरी कुल ११७ किलोमिटर सडक थप भएको हो।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९-८० को असार मसान्तसम्मको अवधिमा संघीय सरकार मातहत १७ हजार ६ सय ९२ किलोमिटर सडक कालोपत्रे भएको थियो। तर, चालु आव २०८०-८१ को पुस मसान्तसम्मको अवधिमा  दुई लेनको कुल कालोपत्रे सडकको कुल लम्बाई १७ हजार ७ सय ८५ किलोमिटर पुगेको छ।

चालु आवको ६ महिनाको अवधिमा मात्रै दुई लेनको कालोपत्रे सडक ९३ किलोमिटर थपिएको छ। त्यसैगरी चालु आवकै ६ महिनाको अवधिमा नै चार लेनको कालोपत्रे सडक २४ किलोमिटर थप भएको छ। हाल संघीय सरकार मातहत चार लेनको कुल सडकको लम्बाई १६८.७ किलोमिटर रहेको छ।

सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म दुई लेनको सडक १८ हजार ४ सय ९२ किलोमिटर लम्बाइको सडक पुर्‍याउने लक्ष्य राखेको छ। त्यसैगरी सरकारले चालु आवकै अन्त्यसम्म चार लेनको सडक भने २९४.७ किलोमिटर पुर्‍याउने लक्ष्य राखेको छ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३४ वटा नयाँ पुल निर्माण सम्पन्न भएका छन्। परिषद्का अनुसार  संघीय सरकार मातहत हालसम्म ३२ सय २५ वटा पुल रहेका छन्। गत आवको अन्त्यसम्म भने ३१ सय ९१ वटा पुल रहेका थिए। सरकारले चालु आवको अन्त्यसम्म ३३ सय ४१ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको  छ।

Tags :
प्रतिक्रिया दिनुहोस