सहकारी ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सहकारी ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने 


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । बागमती प्रदेशको संस्कृत, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट लिएको ऋण चुक्ता गर्न आह्वान गरेको छ ।

शुक्रबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै ऋणीहरूले तोकिएको समयभित्र ऋणको साँवा तथा व्याज चुक्ता नगर्दा सदस्यहरूको बचत फिर्ता गर्न नसकेको भन्दै सहकारीबाट लिएको ऋण तिर्न आह्वान गरेको हो ।

सम्झौता वा सर्त बमोजिम लिएको ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान नगरे सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने मन्त्रालयले जनाएको छ ।

‘सहकारी संस्थाबाट सदस्यहरूको बचत रकम नै कर्जाको रूपमा प्रवाह हुने र ऋणी सदस्यहरूले समयमा नै आफूले भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज विभिन्न बहानाबाजी एवम् केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरूको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको छ,’ सूचनामा भनिएको छ ।

सहकारी संस्थाहरूबाट ऋण लिएका ऋणीहरूले तोकिएको समयभित्र ऋणको साँवा तथा ब्याज चुक्ता नगर्दा सदस्यहरूको बचत फिर्ता गर्न नसकेको देखिएको सूचनामा उल्लेख छ । यस्तोमा ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था ऐनमा रहेको छ ।

सोही अनुसार सहकारीको ऋण नतिर्ने ऋणीलाई प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गर्ने मन्त्रालयले आह्वान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस