कारागारमा पाँच गुणाभन्दा बढी कैदी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कारागारमा पाँच गुणाभन्दा बढी कैदी 


२३ फाल्गुन २०८०, बुधबार


त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको जिल्ला कारागारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् एक सय ५० कैदी बन्दी राखिएको छ । 

विभिन्न अभियोगमा दोषी ठहर भएका र अभियोग लागेर फैसला हुन बाँकी रहेका गरेर एक सय ५० कैदी तथा थुनुवा रहेका छन् । पाँच महिला र २० पुरुष गरी २५ जना अटाउने क्षमताको कारागारमा हाल सो सङ्ख्यामा कैदी तथा थुनुवा रहेको कारागार प्रशासक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए । उनका अनुसार एक सय जना विभिन्न अभियोगमा दोषी ठहर भएका कैदी छन् भने ५० जना विभिन्न अभियोगमा अदालतबाट फैसला आउन बाँकी रहेका थुनुवा छन् । क्षमताभन्दा बढी सङ्ख्या हुँदा बसाइ व्यवस्थापनमा समस्या हुने गरेको छ । 

त्यसैगरी, हिउँको समयमा पानीको पनि उत्तिकै समस्या हुने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिए । कारागारमा भवन तथा अन्य समस्याको समाधानका निम्ति पटक-पटक मौखिक तथा पत्राचार गर्दा पनि कारागार व्यस्थापन विभागले व्यवस्था गर्दा कैदीबन्दीलाई समस्या हुने गरेको छ । रुकुम पूर्व र रुकुम पश्चिमको एउटै कारागार हुँदा पनि ठाउँको अभाव हुने गरेको छ । जिल्ला अदालत रुकुम पूर्वबाट पनि दोषी ठहर भएका कैदी तथा अभियोग लागेका थुनुवा जिल्ला कारागार रुकुम पश्चिममै आउने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिए । 

हाल कारागारमा पाँच महिलाको क्षमता भएकामा १० महिला, २० पुरुष अटाउने क्षमतामा एक सय ३८ र दुई नाबालक रहेको कारागार आन्तरिक प्रशासन प्रमुख प्रेम गिरीले जानकारी दिए । उनका अनुसार ७० वर्षमाथिका चार कैदी बन्दी छन् । त्यस्तै १६ महिनाका एक बालक र दुई वर्षका एक बालक गरेर दुई बालक पनि कारागारमा रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस