समानान्तर निर्माण सेवालाई तीन वर्ष कालो सूचीमा राख्न काठमाडौँ महानगरको पत्र « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

समानान्तर निर्माण सेवालाई तीन वर्ष कालो सूचीमा राख्न काठमाडौँ महानगरको पत्र


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समानान्तर निर्माण सेवा प्रा.लि.लाई कालो सूचिमा राख्न सिफारिस गरेको छ । 

तथ्य बङ्ग्याई/झुक्काई विवरण पेस गरेकोले समानान्तरलाई तीन वर्षका लागि कालो सूचीमा राख्न प्रमुख प्रशासकीय अधिकृत स्तरको निर्णयअनुसार  सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको महानगर स्रोतले जनाएको छ । महानगरले खोलेको ठेक्का प्रक्रियामा समानान्तरले बदनियत पूर्ण तरिकाले कागजात पेस गरेको थियो । 

‘गलत गरेका कारण हाम्रो मूल्याङ्कनले उसलाई रद्द गर्‍यो’, महानगर स्रोतले भन्यो, ‘रद्द गरेको विषयमा समानान्तर महानगरविरुद्ध उजुरी हालेको रहेछ  । मूल्याङ्कनमा गलत गरेको देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालो सूचीमा राख्न पत्र पठाएका छौँ ।’

महानगरले पठाएको पत्रमा समानान्तर निर्माण सेवा प्रा.लि. लाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१, काठमाडौँ महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७९ को नियम ४८ र बोलपत्र सम्बन्धी कागजातको जीसीसीको धारा नं. ७३ र ७४ समेतका आधारमा मिति २०८०।११।२१को प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयअनुसार समानान्तर निर्माण सेवा प्रा.लि. लाई ३ (तीन) वर्ष अवधिको लागि कालो सूचीमा राख्नको लागि सिफारिस साथ अनुरोध गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले आह्वान गरेको ठेक्का नं. ०६–२७–०८०–८१ एनसीबीडब्लु–केएमसीबाट सामाखुसी कोरिडोरमा वसुन्धरादेखि मेह्पीसम्म ढल निर्माण कार्यको ठेक्कामा समानान्तरले गलत विवरण पेस गरेको थियो । काठमाडौँ महानगरपालिकासँगको डिस्पुटसँग सम्बन्धित विषय नखुलाई तथ्य बङ्ग्याई/झुक्काई कार्यालयलाई विवरण पेस गरेको देखिएपछि समानान्तरलाई महानगरले रद्द गरेको थियो ।

सेटिङमा ठुला सरकारी ठेक्का हत्याउने गरेको आरोपसमेत लाग्दै आएको समानान्तर निर्माण सेवाले देशका ठुला ठेक्काहरू हात पार्दै आएको छ । समानान्तरले राजस्व छली गरेको आशङ्कामा २०७८ सालमा राजस्व अनुसन्धान विभागले अनुसन्धानसमेत थालेको थियो । 

काठमाडौँ महानगरपालिकाका मेयर वालेनले पछिल्लो समय अनियमितता र भ्रष्टाचारका विषयमा कडा रूपमा प्रस्तुत हुँदै आएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस