९२ वटा वडाको सिमाना हेरफेर गर्ने तयारी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

९२ वटा वडाको सिमाना हेरफेर गर्ने तयारी 


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । ९२ वटा वडाको सिमाना हेरफेर गर्ने तयारी गरिएको छ । विभिन्न स्थानीय तहले ९२ वटा वडाहरूको सीमा हेरफेरको प्रस्ताव गरेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तहहरूले निर्णयका लागि भन्दै यस्तो प्रक्रिया पूरा गरेर प्रस्ताव पठाएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४मा सम्बन्धित वडाको सिफारिसमा वडाको सिमाना र संख्या हेरफेर गर्न स्थानीय तहको गाउँ वा नगर सभाको बहुमतले निर्णय गर्न सक्ने व्यवस्था छ । तर सरकारले अहिलेसम्म यस्ता प्रस्तावमा निर्णय गरेको छैन ।

नेपाल सरकारले गाउँपालिका तथा नगरपालिकामा रहने वडाको सिमाना र संख्या निर्धारण गर्ने व्यवस्था छ । वडाको संख्या निर्धारण गर्दा नेपाल सरकारले गाउँपालिकामा कम्तीमा ५ र बढीमा २१ वडा तथा नगरपालिकामा कम्तीमा ९ र बढीमा ३५ वडा हुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

जनसङ्ख्या तथा जनसङ्ख्या वितरणको अवस्था, भौगोलिक निरन्तरता, अनुकूलता तथा विशिष्टता, भाषिक, सांस्कृतिक तथा सामाजिक विशिष्टता, सेवा सुविधा वितरणको अवस्था र सुगमता, विद्यमान भौतिक पूर्वाधारका आधारमा यस्तो सिमाना हेरफेर गर्न सकिने व्यवस्था छ ।

तर, यति मात्रै व्यवस्थाका भरमा नेपाल सरकारले निर्णय गर्न नसक्ने देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वडा विभाजन र सिमाना परिवर्तनका लागि आवश्यक मापदण्ड तथा कार्यविधि तर्जुमा गर्ने निर्णय गरेको छ ।

सामान्य प्रशासनमन्त्री अनिता देवीको अध्यक्षतामा बसेको विषयगत समितिको शुक्रबारको बैठकले तहको वडा विभाजन र सिमाना परिवर्तन गर्ने प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस