उपकुलपतिविहीन तीन विश्वविद्यालय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपकुलपतिविहीन तीन विश्वविद्यालय


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपतिविहीन भएका हुन् ।

चार वर्षे कार्यकालका लागि नियुक्त भएका उपकुलपतिहरूको समयावधि समाप्त भएका कारण ती विश्वविद्यालय शनिवारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त हुने उपकुलपतिहरूमा पूर्वाञ्चलका प्राडा यादवराज कोइराला, सुदूरपश्चिमका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चलका प्राडा नन्दबहादुर सिंह रहेका छन् । कोइराला, जोशी र सिंहलाई तत्कालीन प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले २०७६ फागुन १९ मा उपकुलपतिमा नियुक्त गरेका थिए ।

विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रक्रिया आरम्भ गरेको थियो । मन्त्रालयले सिफारिस समिति गठन गरेर माघको अन्तिम साता सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान प्रक्रिया हाललाई स्थगित गरिएको छ । प्रक्रिया स्थगित गर्नुको कारणबारे समितिले केही खुलाएको छैन ।

मन्त्रालयका अनुसार माघ अन्तिम साता नै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको आवेदन आह्वान गर्दा १८ जनाले सोच पत्रसहित कार्य योजना बुझाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस