चैत १६ गते काठमाडौँ केन्द्रित जनसंघर्ष गर्दै राप्रपा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

चैत १६ गते काठमाडौँ केन्द्रित जनसंघर्ष गर्दै राप्रपा


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १६ गते काठमाडौँ केन्द्रित जनसंघर्ष गर्ने भएको छ ।

पार्टीले फागुन ९ गते सरकारसमक्ष पेश गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम सञ्चालन गर्ने र काठमाडौंमा चैत १६ गते जनसंघर्ष गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार यसक्रममा राप्रपाले आज राजधानीमा सबै जिल्लाको प्रतिनिधिमूलक आन्दोलनसम्बन्धी प्रशिक्षण गरेको छ । अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङदेन, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले संघर्षको कार्यक्रमको खाका, कोषाध्यक्ष एवं आर्थिक समिति संयोजक निलकण्ठ काफ्लेले अर्थ व्यवस्थापन र प्रवक्ता एवं आन्दोलन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा प्रशिक्षण दिएका छन् ।

राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्र र सबै स्थानीय तहमा तयारी बैठक गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

उनका अनुसार चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र सानाठूला सभा गरिनेछ । त्यस्तै चैत १० गते देशका मुख्य शहरमा मोटरसाइकल ऱ्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले राष्ट्रिय झण्डासहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस