काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन् । उनले मधेशको विकास नभईकन देशको विकास नहुने उल्लेख गरे ।
सिराहा नगरपालिका-१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका-६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले सङ्घीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए । उनले भने, “अब सङ्घीयता सबलरुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।”
प्रधानमन्त्री ‘प्रचण्ड’ले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले सङ्घीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे । नेपालको भूगोलअनुसार झोलुङ्गे पुलको महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए । निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पु¥याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो ।