सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक विधायन समितिमा पठाइयो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक विधायन समितिमा पठाइयो


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका निम्ति सम्बन्धित समितिमा पठाइएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको सो विधेयकलाई दफावार छलफलका निम्ति विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको हो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराइएको थियो ।

यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन, २०७९–८० सभामा पेस गरेका थिए ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० सभासमक्ष पेस गरिन् ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विधायनसम्बन्धी विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गरिन् ।

राष्ट्रिय सभाको अर्को बैठक यही फागुन ११ गते दिउँसो १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस