लिभरपुलले जित निकाल्दा सिटी बराबरीमा रोकियो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लिभरपुलले जित निकाल्दा सिटी बराबरीमा रोकियो


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले शानदार जित निकाल्दा दोस्रो स्थानको म्यानचेस्टर सिटी भने बराबरी खेल्दै अङ्क बाँड्न बाध्य भएको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । लिभपुलको जितमा ३५ औँ मिनेटमा डार्विन ग्याब्रिएल नुनेज, ५५ औँ मिनेटमा एलेक्सिस एलिस्टर, ६८ औँ मिनेटमा मोहमद सलाह र ८६ औँ मिनेटमा कोडी म्याथेसले एक गोल गाल गरेका थिए । ब्रेन्टफोर्डका लागि इभान टोनीले ७५ औँ मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै लिभरपुल ५७ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २५ अङ्कका साथ १४ औँ स्थानमा छ ।

यसैगरी म्यानेचस्टर सिटीले चेल्सीसँग अङ्क बाडेको छ । सिटी र चेल्सीले एक एक गोलको बराबरी खेल्दै एक एक अङ्क लिएका छन् । रहिम स्र्टलिङले ४२ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ८३ औँ मिनेटमा रोड्रिले गोल गरेपछि सिटीले बराबरी गर्दै एक अङ्क लिन सफल भयो ।

बराबरीले सिटी ५३ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहँदा चेल्सी ३५ अङ्कका साथ १० औँ स्थानमा छ । यसैगरी बर्नलेमाथि ५–० को एकतर्फी जित निकालेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ ।

आर्सनलको जितमा बकायो साकाले व्यक्तिगत २ गोल गर्दा मार्टिन ओडोगार्ड, लियोनार्दो ट्रोसान्ड र केइ हार्भाटेजले एक एक गोल गरेका थिए । आर्सनलसँग पराजित भएको बर्नले भने १३ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

अन्य खेलमा एस्टन भिल्लाले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दा वुल्भ्सले टोटनह्यामलाई पनि २–१ को अन्तरमा स्तब्ध बनाएको थियो । त्यसैगरी नटिङघम फरेस्टले वेस्टह्याम युनाइटेडलाई २–० ले हार चखाउँदा न्युक्यासल युनाइटेड र एफसी बर्नमाउथले २–२ गोलको बराबरी खेले । 

Tags :
प्रतिक्रिया दिनुहोस