आईसीसी विश्वकप लिग-२ : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आईसीसी विश्वकप लिग-२ : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै


५ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९:१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग-२ ९२०२३-२०२७० को सुरुवात गर्न लागेको हो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।

लिग-२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग.२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सात वटा राष्ट्र मात्र सहभागी थिए ।

लिग-२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ । यसपटक लिग-२ प्रतियोगितामा नेपाल, नामिबिया  र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस