जनप्रतिनिधिले नै लगाए गाउँपालिकामा ताला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनप्रतिनिधिले नै लगाए गाउँपालिकामा ताला


३ फाल्गुन २०८०, बिहिबार


सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । माघ १२ गते बसेको कार्यपालिका बैठकको  निर्णय कार्यान्वयन नभएको र गाउँपालिकाले सूचना उपलब्ध नगराएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी  पार्टीबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यले मङ्गलबारदेखि गाउँपालिकाको    कार्यालयमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दीका कारण गाउँपालिकाको कामकाज ठप्प भएको छ । पर्सा  गाउँपालिका-२ का  वडाध्यक्ष राकेश रामले माघ १२ गते बसेको कार्यपालिका बैठकबाट पारित गरिएको १९ बुँदे प्रस्ताव कार्यान्वयन गर्न आलटाल गरेपछि बाध्य भई तालाबन्दी गरिएको बताए । आर्थिक वर्ष २०७९/८० को आय-व्यय प्रतिवेदन, जिन्सी प्रतिवेदन, राजस्व दाखिला प्रगति प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको उनले बताए । शाखा परिवर्तन सन्तोषजन नभएको, करार र ज्यालादारीमा कति कर्मचारी कार्यरत छन् र उनीहरूको तलब सहित जानकारी दिनुपर्ने लगायतका माग उनीहरूको छ ।

गाउँपालिकाका अध्यक्ष धिरेन्द्र रायले राजनीतिक प्रतिसोतले काम गर्न नदिनकै लागि ताला लगाइएको बताए । उनले पालिकाको बैठकमा राखिएका १९ बुँदे मागबारे प्रस्ट पारि सकेको बताए । छलफलबाटै समाधान खोजौँ भन्दाभन्दै विवाद गर्नकै लागि पालिकामा ताला लगाएको उनको भनाइ छ । पालिकामा तालाबन्दी गरिएकोबारे जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई जानकारी गराइने उनले बताए ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र केही कर्मचारीको एकाधिकार रहेको आन्दोलनकारीको आरोप छ । उनीहरूले वन प्राविधिक, प्रशासन, योजना तथा जिन्सी शाखा, सूचना तथा सञ्चार  प्रविधि  अधिकृत गरी तीन जनालाई हटाउनुपर्ने माग राखेका छन् । उक्त माग सम्बोधन गर्न नसकिने पालिकाले स्पष्ट पारेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवले तीन जना कर्मचारी हटाउनका लागि दबाब आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस