कोहलपुरमा सुशील कोइराला मेमोरियल यू-१९ महिला क्रिकेट सुरु  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोहलपुरमा सुशील कोइराला मेमोरियल यू-१९ महिला क्रिकेट सुरु 


२७ माघ २०८०, शनिबार


नेपालगञ्ज । बाँकेको कोहलपुरमा सुशील कोइराला मेमोरियल यू-१९ महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत शनिबार पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर-११ र गण्डकी प्रदेश विजयी भएका छन् । कोहलपुरले लुम्बिनी प्रदेशलाई तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेका छन् । 

पहिलो खेलमा कोहलपुर मेयर–११ ले लुम्बिनी प्रदेशलाई ४७ रनले पराजित गरेको हो । कोहलपुर मेयर–११ ले दिएको १०१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १४.५ ओभरमा ५३ रनमा सबै विकेट गुमायो । लुम्बिनीको ब्याटिङमा सुष्मिता भुसालले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन् ।

कोहलपुरको बलिङमा रिया शर्माले सर्वाधिक ३ विकेट लिइन्, जुन क्रममा ४ ओभरमा मात्र ७ रन खर्चिन् । भवानी कमाती र तृष्णा विश्वकर्माले २÷२ विकेट तथा हैमवती रोय, आरती महतो र प्रतिमा शाहले १÷१ विकेट लिए ।  

टस जितेर ब्याटिङ गरेको कोहलपुर मेयर–११ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०० रन बनायो । कोहलपुरका लागि ओपनर साना प्रवीनले सर्वाधिक ४० रनको योगदान दिइन । अविजित रहेकी उनले ५७ बलमा ३ चौका प्रहार गरिन । प्रतिमा शाहले १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाए । लुम्बिनीको बलिङमा सरु तिवारी र एन्जिला पाठकले १÷१ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच साना प्रवीन घोषित भइन । दोस्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३० रनले पराजित ग¥यो । गण्डकीले दिएको १४५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा ११४ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि सावित्री धामीले सर्वाधिक २४ रन, गंगा खड्काले १८ तथा जानकी थापाले अविजित १५ रन बनाए । गण्डकी प्रदेशको बलिङमा रचना चौधरीले सर्वाधिक ३ विकेट लिइन्, त्यस क्रममा ४ ओभरमा २५ रन खर्चिकी थिइन । आकृति तिवारी र सिमाना केसीले २÷२ विकेट तथा कुसुम गोदार र निरुता जीटीले १-१ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ३ विकेट गुमाएर १४४ रन बनायो । गण्डकीका लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक ७१ रनको योगदान दिइन । चौंथो नम्बरमा ब्याटिङ गरेकी उनले अविजित रहँदै ५८ बलमा ६ चौका र २ छक्का प्रहार गरिन । सिमाना केसीले २१ तथा रचना चौधरीले १६ रन बनाए । सुदूरपश्चिमको बलिङमा स्नेहा महराले १ विकेट लिनु बाहेक अन्य बलर विकेटविहीन रहे । गण्डकीले २ विकेट रन आउटमार्फत गुमायो ।

अर्धशतकीय योगदान दिन सफल ज्योत्सनिका मरासिनी खेलको प्लेयर अफ द म्याच घोषित भइन । प्रतियोगिताअन्तर्गत आइतबार वाग्मती र लुम्बिनी तथा गण्डकी र कोहलपुर मेयर–११ बीच दुई खेल हुने तालिका छ ।

प्रतियोगितामा कोहलपुर मेयर–११, लुम्बिनी, गण्डकी, वाग्मती र सुदूरपश्चिम प्रदेश सहभागी छन् । सबै टिमले एक–अर्कासँग एक खेल खेलेपछि अङ्क तालिकाको शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस