गोदाम भरिएपछि ‘मिल्क उद्योग’ बन्द « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गोदाम भरिएपछि ‘मिल्क उद्योग’ बन्द


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि उद्योग बन्द भएको हो ।

उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो ।

यही माघ २० गतेदेखि दूध संकलन रोकिएको छ । भण्डारण गरिएको दूधको प्रशोधन गरेर २२ गतेदेखि उद्योग बन्द गरिएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए।

उनका अनुसार सहकारी र दुग्ध उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र कोल्डस्टोर भरिएका हुन् ।

प्रबन्धक पराजुलीका अनुसार पाउण्डर दूधले गोदाम, चिनी भण्डारण गर्ने, कपडा फेर्ने ठाउँ, क्यान्टिन सबै भरिएको छ । बीस हजार बोराभन्दा बढी दूध बाँकी रहेको जनाउँदै उहाँले पाँच सय टनभन्दा बढी बटर कोल्डस्टोरमा थन्किएको बताए ।

विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द हुन पुगेको थियो । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र बटरको प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस