काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको चालु अधिवेशनमा विभिन्न विषयमा गैरसरकारी विधेयक अघि बढाउने तयारी गरेको छ ।
सोमबार प्रतिनिधि सभाको बैठक बस्नुअघि बसेको रास्वपाको संसदीय दलको बैठकमा गैरसरकारी विधेयकको अभ्यास गर्ने विषयमा छलफल भएको हो ।
सांसद मनीश झाका अनुसार नेपालको संसदीय अभ्यासमा धेरै विधेयक सरकारले नै ल्याउने प्रचलन छ । तर सांसदहरूले आफ्नो विज्ञता भएको विषयमा विधेयक तयार गरी गैरसरकारी विधेयकका रूपमा संसदमा दर्ता गराउन सक्छन् ।
केही सांसदहरूले आफूहरू गैरसरकारी विधेयक ल्याउने विषयमा अध्ययनमा रहेको जानकारी गराएका थिए । पार्टीका उपसभापति स्वर्णिम वाग्लेले गैर सरकारी विधेयक ल्याउँदा ध्यान दिनुपर्ने विषयमा सांसदहरूलाई जानकारी गराएका थिए ।
बैठकमा पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले चालु अधिवेशनमा सरकारले ल्याउन लागेको विधेयकबारे जानकारी लिएर ती विधेयकबारे सम्बन्धित क्षेत्रका विज्ञहरूसँग बुझेर आफूलाई तयारी अवस्थामा राख्न सांसदहरूलाई निर्देशन दिएका छन् ।