एएफसी एसिया कप : जापान र इरान क्वाटरफाइनलमा प्रवेश « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एएफसी एसिया कप : जापान र इरान क्वाटरफाइनलमा प्रवेश


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । जापान र इरानले एएफसी एसिया कपको अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।

बुधबार राति भएको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्दा इरानले सिरियालाई पेनाल्टी सूटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

कतारमा जारी प्रतियोगिता अन्तर्गत जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयास युएडाले एक एक गोल गरेका थिए । बहराइनको एक गोल पनि उपहार थियो । जापानको जिओनी सुजुकीले आफ्नै पोस्टमा गोल गरेका थिए ।

यस्तै, अर्को खेलमा इरानले सिरियासँग एक एक गोलको निर्धारित समय बराबरी खेलेको थियो । ३४ औं मिनेटमा मेहदी टेरामीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।६४ औं मिनेटमा ओमार खर्बिनले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

दोस्रो हाफको अतिरिक्त समयमा इरानका टेरामी दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्दा १० खेलाडीमा समेटिएको थियो । तर, सिरियाले गोल थप्न नसक्दा खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । जसमा इरानले पाँच गोल गर्दा सिरियाले ३ मात्र गरेको थियो । 

एसिया कपको क्वाटरफाइनलमा इरान र जापानले प्रतिस्पर्धा गर्ने छन् । बुधबार रातिको नतिजासँगै एएफसी कपको क्वाटरफाइनल समीकरण पनि पुरा भएको छ ।

शुक्रबार ताजकिस्तान र जोर्डन तथा अस्ट्रेलिया र दक्षिण कोरिया भिड्ने छन् । यसैगरी शनिबार इरान र जापान तथा कतार र उज्वेकिस्तान आमने सामने हुने छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस