परराष्ट्रमन्त्री र बेलायती सेना प्रमुखबीच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परराष्ट्रमन्त्री र बेलायती सेना प्रमुखबीच भेटवार्ता


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख जनरल प्याट्रिक सन्डर्सले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा दुई शताब्दीभन्दा लामो नेपाल बेलायत सम्बन्धबारे चर्चा भएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

गोर्खाहरूले बेलायती सेनामा पुर्‍याएको उच्च योगदानको चर्चा गर्दै मन्त्री साउदले १९९७ भन्दा अगाडि रिटायर भएका भूतपूर्व गोर्खाहरूले उठाएका समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गोर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन सेना प्रमुखसँग अनुरोध गरे ।

सेना प्रमुखले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेको बताए । साथै गोर्खाका मागलाई बेलायतले गम्भीरताका साथ लिएको बताए । नेपालको मुख्य विकास साझेदारको रूपमा बेलायतले पुर्‍याएको सहयोगका लागि साउदले धन्यवाद दिएका थिए ।

बेलायतमा हाल आर्थिक कठिनाइ भए पनि नेपाललाई सहयोग निरन्तर रहने बेलायती पक्षले बताए । साथै आगामी सहयोग नेपालमा रोजगारी सिर्जना र पर्यटन विकासलगायत आर्थिक वृद्धिमा केन्द्रित जानकारी बेलायती पक्षले गराए ।

नेपालले राष्ट्र संघीय शान्ति मिसनमा पुर्‍याएको योगदानको बेलायती सेना प्रमुखले उच्च प्रशंसा गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस