झापा र कञ्चनपुरदेखि काठमाडौँसम्म ‘न्याय मार्च’ गर्दै मिटरब्याज पीडित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

झापा र कञ्चनपुरदेखि काठमाडौँसम्म ‘न्याय मार्च’ गर्दै मिटरब्याज पीडित


१५ माघ २०८०, सोमबार


काठमाडौँ । मिटरब्याज पीडितहरूको एक समूहले झापा र कञ्चनपुरदेखि काठमाडौँसम्म पदयात्रा गर्ने भएका छन् । मिटरब्याज र ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अगुवाइमा मिटरब्याज पीडितहरूले ६ माघदेखि झापा र कञ्चनपुरबाट काठमाडौँतर्फ पैदलयात्रा सुरु गर्न लागेका हुन् ।

झापा र कञ्चनपुरबाट सुरु हुने पदयात्रा चितवनमा भेट भई त्यहाँबाट काठमाडौँतर्फ पदयात्रा गरिने संघर्ष समितिका संयोजक अवधेश कुशवाहले जानकारी दिए । मिटरब्याज पीडितहरूले यसलाई मिटरब्याजविरुद्ध न्याय मार्च नाम दिएका छन् ।

गाउँघरमा साहु महाजनबाट ऋण लिएका सर्वसाधारणसँग साहु महाजनले चर्को ब्याज लिने, ऋण लिएको भन्दा बढी रकम लिएको भनेर असुल्ने जस्ता समस्यालाई मिटरब्याज भन्ने गरिएको छ । सरकारले यसलाई अनुचित लेनदेन नामकरण गर्दै यसलाई समाधान गर्न कानुनसमेत बनाएको छ ।

मिटरब्याज समस्या समाधान गर्न भन्दै सरकारले २०७९ चैत २० गते गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोगसमेत बनाएको थियो । जाँचबुझ आयोगले मधेशको जनकपुरधाममा कार्यालय राखी मिटरब्याज पीडितहरूबाट उजुरीसमेत लिएको थियो । उक्त समितिले काम सकेर प्रतिवेदनसमेत सरकारलाई बुझाइसकेको छ ।

तर आफूहरूको माग अझै पूरा नभएको भन्दै मिटरब्याज पीडित न्याय माग्दै काठमाडौँ आउन लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस