माधव नेपालले भने-प्रतिगमनकारीहरू सामाजिक सद्‌भाव खलबल्याउन खोज्दै छन् « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माधव नेपालले भने-प्रतिगमनकारीहरू सामाजिक सद्‌भाव खलबल्याउन खोज्दै छन्


१४ माघ २०८०, आइतबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारीहरू सामाजिक सद्‌भाव खलबल्याउन खोजिरहेको बताएका छन्।

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिगमनकारीहरू जनताको निराशामा खेलिरहेको बताए।

“मुलुकको वर्तमान अवस्थामा जनताका निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी र पश्चगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्‌भाव खलबल्याउने अवस्था भइरहेको छ,” नेपालले भने।

अहिलेको व्यवस्था रक्षाका लागि सबै लाग्नुपर्ने उनको भनाइ थियो। त्यसका लागि न्यूनतम साझा कार्यक्रम अनुसार संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने नेपालको जोड थियो।

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनको सरकारले जनपक्षीय काम गर्न खोजिरहेको जिकिर गरेका छन्। “गठबन्धन सरकार जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको छ,” अध्यक्ष नेपालले भने, “भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी काम अझै गर्नुपर्ने आवश्यकता छ।”

यो केन्द्रीय परिषद्को दोस्रो बैठक हो। दुई दिनसम्म चल्ने बैठकले एकीकृत समाजवादीको विधान परिमार्जन गर्ने जनाइएको छ।

यससँगै बैठकले पदाधिकारी, केन्द्रीय कमिटीका काम, कर्तव्य तथा अधिकारको बाँडफाँड गर्नेछ। पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदान लगायत आधारमा मापदण्ड तय गर्ने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस