नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्छ : मन्त्री किराँती « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्छ : मन्त्री किराँती


१३ माघ २०८०, शनिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन् । शनिबार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री किरातीले सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने बताए । उनले निगम अन्तर्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने बताए । निगमले नेपालको इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने बताउँदा उनले आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भएपनि निगमलाई राम्रो र व्यवस्थित बनाउन लागिरहेको बताए ।

निगमले एक वर्षमा आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋण, चिनियाँ जहाजको निकास दिने कुराको शाहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरूको खरिद प्रक्रिया अघि बढाइएको बताउँदै उनले यसले निगम माथि उठ्दै गएको भन्ने अनुभूति भएको बताए ।

‘मलाई लाग्छ साँच्चै हाम्रो निगम गौरवको विषय बन्नेछ । सबैले इमान्दार भएर लागौँ । एक वर्ष सबैले इमान्दार होऔँ । यसले दिने परिणामबाट हामी अर्कै ठाउँमा पुग्छौँ’ उनले भने, ‘हाम्रो देशको अनुहार, रुपै भनौँ अन्तर्राष्ट्रिय जगतमा देखाउने निगम हो । यो निगमलाई राम्रो बनाउनुपर्छ भन्ने मेरो मात्रै होइन, अहिलेको वर्तमान प्रधानमन्त्रीको पनि सपना हो । जसले हाम्रो राष्ट्रिय ध्वजा बोकेर संसारभर जाने गर्छ, जसले हाम्रो इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने गर्दछ ।’

उनले थपे, ‘जतिबेला म मन्त्री भएको थिएँ, अहिले एक वर्ष पनि पार भइसकेको छ । मानिसहरूले भन्थे, सुनिन्थ्यो, देखिन्थ्यो पनि । अनुभूति पनि हुन्थ्यो । सबैभन्दा ठूलो चुनौती वायुसेवा निगम जसले सफलता र असफलताको मार्गचित्र निर्माण गर्नेछ, भनेर म आफूलाई पनि लाग्थ्यो । तर यो वर्ष दिनको अनुभवले हामी पछि हटेका छौँ जस्तो लाग्दैन ।’ नेपाल वायुसेवा निगमको सिनामंगलस्थित आफ्नै जग्गामा कार्यालयको शिलान्यास भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस