पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन 


१३ माघ २०८०, शनिबार


इलाम । इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०/८१ मा भन्सारले रु एक करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । 

यसैगरी आव २०७७/७८ मा रु एक करोड ८९ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले रु एक करोड दुई हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिए । यस्तै आव २०७८/७९ मा रु दुई करोड ५३  लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ८७ लाख ३८ हजार सङ्कलन भएको थियो । 

कार्यालय प्रमुख सुब्बाका अनुसार आव २०७९/८० मा रु दुई करोड ५० लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु दुई करोड ७१ लाख ८२ हजार सङ्कलन गरिएको थियो । अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको हो । पशुपतिनगर भन्सारअन्तर्गत आठ छोटी भन्सार कार्यालय रहे पनि ती सबै बन्द छन् । 

“हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको छ”, उनले भने । 

नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या भएको कार्यालय प्रमुख सुब्बाले बताए । खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उनको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस