लुम्बिनीविरुद्ध एपीएफ सात विकेटले विजयी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

लुम्बिनीविरुद्ध एपीएफ सात विकेटले विजयी


११ माघ २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

बिहीबार सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १३४ रनको लक्ष्य एपीएफले २२.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । एपीएफको जितमा कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाए । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । पुरन विकले ३३ र लोकेश बमले १६ रन जोडे ।

लुम्बिनीका एमडी हुसेन, कृष्ण कार्की र इकलाख अहमेदले समान एक विकेट लिए । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले ४१ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो । लुम्बिनीका दिल्सान अलीले ३९ रनको योगदान गरे । मृनल गुरुङले ३४, विराट भण्डारीले २३ र प्रज्वल थापाले ११ रन बनाए ।

लुम्बिनीलाई सस्तैमा समेट्न एपीएफका रमेश कुर्मीले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका रमेशले दुई मेडन फ्याँक्दै २९ रन खर्चिए । भुवन कार्कीले तीन र कप्तान रोहित र मौसम ढकालले समान एक विकेट लिए ।

जितसँगै ६ खेलबाट ६ अंक जोडेको एपीएफ तालिकाको छैटौँ स्थानमा छ । पाँच खेलबाट दुई अंकको लुम्बिनी नवौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस