काठमाडौँ । उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारीको बढुवा प्रक्रिया तत्काललाई रोक्न अल्पकालीन आदेश जारी गरेको छ ।
बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै शिक्षक र कर्मचारीहरू २९ पुसदेखि काम छाडेर आन्दोलनमा छन् । बढुवा प्रक्रियाका विरुद्ध परेको रिटको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले तत्काल प्रक्रिया रोकेर १७ माघमा छलफलका लागि दुवै पक्षलाई हाजिर हुन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उपकुलपति प्रह्लाद कार्कीले बढुवाका लागि प्रकाशित विज्ञापन अनुसार अन्तरवार्ता अघि बढाउन मानेका छैनन् । सोमबार र मंगलबार आन्दोलनरत पक्षको माग सम्बोधन गर्नका लागि बसेको कार्यकारिणी समितिको बैठक निष्कर्षबिहिन भएको थियो । अदालतको आदेशले उपकुलपति कार्कीलाई सहज भएको छ ।
प्रतिष्ठानको बढुवा सुचारु गर्न माग गर्दै सुरु भएको आन्दोलनविरुद्ध सञ्जयकुमार मेहताले उच्चमा निवेदन दर्ता गरेका थिए । बुधबार उच्च अदालतका न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले बढुवा प्रक्रिया रोकेर दुवै पक्षलाई छलफलका लागि आउन आदेश दिएको हो ।