जनमत पार्टी सत्तापक्ष कि प्रतिपक्ष ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनमत पार्टी सत्तापक्ष कि प्रतिपक्ष ?


५ माघ २०८०, शुक्रबार


डा. शरदसिंह यादव

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी केन्द्रमा गठबन्धन सरकारमा सहभागी छ । गठबन्धनकै लाभ लिएर मधेस र लुम्बिनी प्रदेशमा पनि पार्टीले आकर्षक मन्त्रालय लिएको छ । तर, विगत एक वर्षको गतिविधि हेर्ने हो भने जनमत पार्टी सत्ता गठबन्धनकै विद्रोहीजस्तै देखिन्छ । सत्तामा पनि रहने र गठबन्धनका निर्णयविरुद्ध पनि उभिने जनमतको दोहोरो चरित्र देखिन्छ ।

एकतर्फ सत्ता गठबन्धनको सरकारमा सहभागी छ भने अर्कोतर्फ उपराष्ट्रपति निर्वाचनमा गठबन्धन विरुद्ध आफ्नै उम्मेदवार उठाएको जनमत पार्टीले अहिले राष्ट्रिय सभामा पनि उम्मेदवार खडा गरेको छ । गठबन्धनसँगै प्रतिस्पर्धा गरिरहेको जनमतले संसदमा बजेटमाथिको मतदानमा सरकारविरुद्ध उभियो ।

सरकारले नै निषेधित क्षेत्र घोषणा गरेको माइतीघर मण्डलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साह र पार्टी अध्यक्ष सीके राउत झन्डा र ब्यानरसहित विरोधमा उपस्थित भए । जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवलाई प्रशासन डटकम गरेको कुराकानीको सम्पादित अंश ।

तपाईँको पार्टी सत्तापक्ष कि प्रतिपक्ष ?
प्रश्न अनुसार जवाफ दिन अलि गाह्रो हुन्छ । कुनै कुनै प्रश्नको जवाफ सोधे अनुसार फ्याट्ट दिन मिल्दैन । सत्ता/सरकार सञ्चालनका लागि गरिएको गठबन्धनमा छौँ हामी । र जनमत पार्टी सुरुदेखि नै सरकारका सही कदमलाई सही र गलत कदमलाई गलत भन्दै आएको छ ।

हामी चुनावी गठबन्धनमा छैनौँ भन्ने कुरा उपराष्ट्रपतिको चुनावदेखि नै स्पष्ट छ । र अहिलेसम्मका चुनावमा हामीले उम्मेदवारी दिएका पनि छौँ ।

यसलाई कसरी बुझ्ने ?
प्रतिपक्ष भनेर बुझ्नै मिलेन नि ! सरकारले गरेका गलत कामको विरोध गर्न जहाँ पनि पाइन्छ ।

बजेटको विषयमा पार्टी अध्यक्षले संसदमै विरोध जनाउनु भएको थियो । नुवाकोटदेखि लिएर डडेलधुरासम्म देशकै ३० प्रतिशत बजेट लगेर खनाइएको अवस्था थियो । गलतलाई गलत त भन्नै पर्‍यो । सत्तामा हुँदैमा दिनलाई रात भन्न मिल्छ त ?

पदका लागि सरकारमा बस्ने, विरोध पनि गर्ने यो दोहोरो चरित्र भएन र ?
यो दोहोरो चरित्र हुँदै होइन । कसरी होइन भने, राजनीति गरिसकेपछि सत्तालाई जनतालाई डेलिभरी गर्ने टुल्सको रूपमा सदुपयोग गर्नुपर्ने हुन्छ, हामीले पनि त्यही गर्दैछौं ।

ज्वलन्त उदाहरण के छ भने, सरकारले नै गर्ने शासकीय सुधारको रिपोर्टमा हाम्रो पार्टीले सम्हालेको मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ प्रतिशत अङ्क ल्याएर एक नम्बरमा आएको छ । त्यो भनेको प्रधानमन्त्री र अन्य मन्त्री भन्दा माथि हाम्रो मन्त्रालय छ । यसको अर्थ हामीले काम गरिरहेका छौँ ।

पार्टीलाई फाइदा बेफाइदा हेरेर नै त यस्तो रणनीति लिइएको होला नि हैन ?
यसको निक्र्यौल गर्ने जिम्मा जनतालाई नै दिन्छौँ । जनताले सबै कुरा नियालेको हुन्छ । सत्तामा हुँदा पनि गलतलाई गलत भन्ने पार्टी जनमत पार्टी मात्र रहेछ भन्ने छाप जनतामा परेको छ । हामीले सबै काम कारबाही पनि सोही अनुसार गरिरहेका छौँ ।

राष्ट्रिय सभामा पनि हामीले उम्मेदवारी दिएका छौँ । राष्ट्रिय सभामा पनि जनमत पार्टीको उपस्थिति रहोस् भन्नका लागि उम्मेदवारी दिएका हौँ । यदि राष्ट्रिय सभामा पनि जनमत पार्टीको उपस्थिति रह्यो भने जनताका मागहरू हामी त्यहाँ पनि उठाउन सक्थ्यौँ भन्ने हो ।

तपाईँकै पार्टीको भागमा रहेको सामान्य प्रशासन त भद्रगोल छ नि, कर्मचारी सरुवामै रुमल्लिँदा न त सरुवा नै व्यवस्थित देखिन्छ, न त मन्त्रालयको अन्य कामतिर नै नजर पुग्न सकेको छ, जहिल्यै लफडा किन ?
यो मन्त्रालयको इतिहास हेर्नु भयो भने अहिलेको जस्तो सजिलै र सहज रूपमा सरुवा बढुवा भएको छैन । सरुवा बढुवामा सबैलाई सन्तुष्ट पार्न सकिँदैन, यो मन्त्रालय नै यस्तै हो । यो चुनौतीलाई हामीले ग्रहण गरेका हौँ ।

यस अघिका चार/पाँच जना मन्त्रीको कार्यकाल मात्रै हेर्यौं र तुलना गर्‍यौ भने पनि विवादरहित भएको अहिले मात्रै हो । विवाद रहित र काम गरेकै कारण शासकीय सुधार रिपोर्टमा मन्त्रालय एक नम्बरमा आएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस