‘हाम्रा प्रधानमन्त्रीसँग देश विकासको खाका नै छैन’ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘हाम्रा प्रधानमन्त्रीसँग देश विकासको खाका नै छैन’


२ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास गर्न नसके राजीनामा दिन सुझाव दिएका छन्।

२६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले केही दिनअघि आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताएका थिए।

सुवालले उनलाई सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिए। उनले अघिल्ला सरकारहरूले गरे पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए। राणा शासन र पञ्चायतविरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए।

उनले जनतालाई धोका दिएर सिंहदरवार कब्जा गरेर नबस्न चेतावनी दिए। उनले नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नरहेको जिकिर गरे। गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई नर्क बनाएको उनको आरोप छ।

सुवालले भने, ‘हाम्रा प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नै छैन। अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो, अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो। अघिल्ला सरकारहरूले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि। प्रधानमन्त्री भएर भाग्न पाइन्छ। यस्तो नेतृत्व भएसम्म सारा नेपाली विदेशमा छन्। सरकारले एक वर्षमा २ हजार ३१८ जना नेपाली डाक्टर विदेश पठायो। तपाईँको काम के हो भनेर सरकारलाई सोध्दा विदेश जाने डाक्टरलाई असल चरित्रको प्रमाणपत्र दिने। परराष्ट्रमन्त्रीलाई के हो काम भन्दा राहदानी बाँड्ने रे। हाम्रा प्रधानमन्त्री र मन्त्रीको कस्तो लाजमर्दो काम।’

Tags :
प्रतिक्रिया दिनुहोस