आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै


२ माघ २०८०, मंगलबार


काठमाडौँ । वि.सं १९९० माघ २ गते गएको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

माघ २ गते दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । सो भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र विभिन्न सङ्घसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

यसै सन्दर्भमा सरकारले ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस-२०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदैछ ।

बिहीबार २६ औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे आम नागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हो ।

भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम आज चन्द्रागिरि नगरपालिकामा हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृह मन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सो कार्यक्रममा भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ । तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना गरिने बताइएको छ । 

गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ भने आज उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरि, ललितपुर र भक्तपुरमा मुख्य समारोह आयोजना हुनेछ ।

विसं १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो भने असी हजार घर ध्वस्त भएका थिए ।

नेपाल भूकम्पीय जोखिम भएको देश हो । विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठ हजार छ सय ७० जनाको निधन भएको थियो भने सात लाख भन्दा बढी आवासमा क्षति पुगेको थियो । यस्तै गत कार्तिक १७ गते शुक्रबार राति गएको जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ,भने ठूलो संख्यामा भौतिक संरचनामा क्षति पुगेको छ । 

नेपाल अझै पनि ठूलो भूकम्पको जोखिममा रहेको अधिकारीहरूले बताउँदै आएका छन् । त्यसैले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस