तामाजन्य कवाडी निकासीमा अनियमितताको आशङ्कामा ट्रकको तौल लिँदै प्रशासन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तामाजन्य कवाडी निकासीमा अनियमितताको आशङ्कामा ट्रकको तौल लिँदै प्रशासन


२७ पुस २०८०, शुक्रबार


कैलाली । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुदूरपश्चिम अन्तर्गत कैलालीस्थित दूरसञ्चार कार्यालय गेटाबाट लिलाम बिक्री भएको तामाजन्य कवाडी (स्क्रप कपर तार) सामानको बिल र तौलमा फरक देखिएपछि अनुसन्धान भइरहेको छ । कवाडी सामानको लिलाम बिक्रीका क्रममा कार्यालयले दुईवटा ट्रकमा निकासी गराए बराबरको परिमाण झण्डै एउटै ट्रकमा भेटिएको छ ।

कवाडी सामानको तौलको विषयमा विवाद आएपछि त्यसमाथि छानबिन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा रहेको टोलीले बिहीबार एउटा ट्रकको तौल लिएको छ । जसमा १४ हजार नौ सय ८२ किलो तामाजन्य कवाडी रहेको छ । दूरसञ्चार कार्यालयबाट रिलिज भएको बिलमा १५ हजार ६ सय ७९ किलो रहेको छ ।

अर्को ट्रकको अहिले तौल लिने काम भइरहेको छ । उक्त ट्रकमा १२ हजार बढी सामान रहेको अनुमान गरिएको छ । जोशीले भने, ‘ठेकेदारले गोदामबाट बाँकी सामान राखेको बताएका छन् । तर, त्यो प्रमाण उनीसँग छैन ।’

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले ट्रकमा राजस्व छलेर सामान लैजाँदै गरेको उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएर छानबिनका लागि समिति गठन गरिएको जानकारी दिए । समितिमा तीन वटै सुरक्षा निकायका प्रतिनिधि, प्राविधिक र गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि सम्मिलित छन् । 

कवाडीको बिलभन्दा बढी तौल भेटिएपछि अनियमितताको आशङ्का गरिएको छ । कवाडी लोड भएर नेपालगन्ज लैजान लागेका दुई वटा ट्रकमध्ये एउटा नेपाली प्रहरी र अर्को सशस्त्र प्रहरीको टोलीले आइतबार नियन्त्रणमा लिएको थियो । बिएलएस कन्स्ट्रक्सन काठमाडौँ नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसँग मङ्सिर २४ गते ९६ टन कवाडी खरिदको सम्झौता गरेको थियो । 

यस विषयमा बुझ्न खोज्दा प्रादेशिक निर्देशनालय सुदूरपश्चिम प्रदेश, धनगढीका निर्देशक किशोर कुमार भट्टको फोन उठेन ।

Tags :
प्रतिक्रिया दिनुहोस