हुम्लामा दियालो बालेर मनाइयो ‘भुवो पर्व’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हुम्लामा दियालो बालेर मनाइयो ‘भुवो पर्व’


२६ पुस २०८०, बिहिबार


सिमकोट।  हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ । सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो ।

जिल्लाका अधिकांश गाउँपालिकामा आआफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान (भुवाखाडो)मा जम्मा भई भुवो नाच, फाक, चाँची, गीत गाएर रातभरि जाग्रम बस्ने चलन छ ।

हिउँद खेतीपातीबाट फुर्सद हुने समय भएकाले भुवो पर्व हुम्लाका सबै गाउँमा परापूर्वकालदेखि मनाउने चलन छ । । यो पर्वमा सबैले मीठामीठा खानेकुरा एक आपसमा बाँडीचुँडी खाने परम्परा छ ।

ठेहे गाउँका लागि विशेष पर्व
जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या र घर एकआपासमा जोडिएर ठूलो  बस्ती रहेको सिमकोट गाउँपालिका एक रदुई ठेहे गाउँमा भुवो पर्वलाई दसैँ, तिहारको जस्तै महत्वका साथ यो पर्व मनाउने गरेका छन् । गाउँभन्दा टाढा सरदमुकाम, अन्य गाउँबस्तीमा कामको सिलसिलामा रहेका ठेहेका बासिन्दा यो दिन घर आइपुग्छन् ।

टाउको सेतो पटुकी, घाँटीमा पहेँलो कपडा, ऊनी बक्खु र कम्मरमा सेतो पटुकी बाँधेर भुवाखाडोमा पुरुष जम्मा हुने गर्छन् भने धामीझाँक्रीले सेतो बक्खु लगाउने प्रचलन छ ।युवा पुस्ताले भने गाउँमा कुटुम्बकी छोरीसँग पानी मागेर ठटेउली शब्द बोलेर रमाइलो गर्ने चलन रहेको रावलले बताए ।

ठेहे गाउँमा बोहरा थरका युवाले भण्डारी र रावल थरका युवाले बोहरा थरका युवतीसँग पानी माग्दै उनीहरूका बुवाबाजेको नाम पुकार्ने चलन छ । एक टोलबाट कुटुम्बको अर्को टोलमा गएर पानी माग्ने चलन रहेको छ ।

बुढापाका भने रातभरि जाग्राम बसी भुवो देवता, देवीदेवताका भोजन, फाक, चाँची  गाएर भुवोको अगेनु वरिपरि बसी गीत गाउने चलन रहेको सिमकोट गाउँपालिका दुईका हुनी बोहराले बताए ।

आज बिहानपख दियालो सल्काएर गाउँ नजिकै खोला वा मूल पानीको धारो नजिकै भुवो विसर्जन गरी स्ननान गरेका छन् । हिउँदयामको माइनसमा झरेको तापक्रमको चिसोको कुनै पर्बाह नगरी नुहाउँछन् ।

बिहान सबेरै आफ्ना मान्यजनको घरमा गएर ढोक गर्ने चलन रहेको बोहराले बताए । राती भुवो खेल्दा मान्यजनको नाम पुकारेर गरेको गालीको माफी माग्न ढोग गर्न जाने चलन  छ । आज दिनभरि नाङ्गो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शनका खेल, चुढाल (तरबार) नाच, फुर्का खेल खेल्ने चलन भएको उनले बताए ।

महाभारतको स्मरणमा भुवो पर्व
महाभारतका पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसीयाली मनाएको दिनलाई स्मरण गर्दै हुम्लाका विभिन्न गाउँमा भुवो खेल्ने गरिन्छ । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धकाबेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवोका गीत गाइन्छ ।

वनबासमा पाण्डवका भाइ पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने चलन रहेको बौद्धिक व्यक्ति तथा शिक्षक सूर्यमणि बोहराले बताए । भुवाखाडामा मुणा जम्मा गर्ने र भुवा औँसीको अघिल्लो दिन राति मुढा सल्काइ रातभरि देउडा, भुवो गीत, फाँक, चाँची, भोस्सो, खेल्ने चलन रहेको बोहराले बताए ।

शिक्षक बोहराले भने, ‘आज दिउँसो दायाँ हातमा तरबार र बायाँ हातमा ढाल समाइ बाजाको तालमा तरबार नाच नाच्ने चलन छ । पौराणिककालमा पाण्डव र कौरवबीच लडाइँ हुँदा एक हातमा तरबार र अर्को हातमा ढाल समाइ गरेको सम्झनामा तरबार नाच खेल्ने गरिन्छ ।’

उनले भने, ‘राति राँकेजुलुसको अर्को विशेषता पाण्डव र कौरवको लडाइँमा रातपरेपछि उज्यालोको आवश्यक भएपछि राँको सल्काई लडाइँ सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँकेजुलुस निकाल्ने गरिन्छ ।’ बोहरा थरका पुरुषले प्रत्येक टोलमा राँकेजुलुस निकालेर काठका दाउरा (मुणा) माग्ने गर्छन् ।

पछिल्लो समय भुवो पर्वप्रति युवाको आकर्षण घट्दै गएको स्थानीय बासिन्दाले बताएका छन् । यो पर्व हुम्लाका ठेहे, ताक्ला, राया, सर्किदेउ, उनापानी, रोडीकोट, राहदेव श्रीमष्ठा, मेल्छाम, दार्मा, मिमी, जैर, कालिका, श्रीनगर, मैला र मदाना गाउँमा भव्यरुपले मनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस