बाक्लो हुस्सुका कारण उडान प्रभावित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाक्लो हुस्सुका कारण उडान प्रभावित


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । केही दिनयता बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलबाट हुने उडानहरू प्रभावित बनेका छन् । काठमाडौँबाट जाने, यताबाट फर्कने र पहाडी जिल्ला जाने उडानहरू हुन सकेका छैनन् ।

प्रतिकूल मौसमका कारण हिजो (बुधबार)पनि उडान प्रभावित भएको थियो । आज (बिहीबार) पनि बिहानका उडानहरू भएका छैनन् । मौसम तत्काल खुल्ने संकेत नदेखिएकाले आज दिनभर उडान हुने वा नहुने बारे टुङ्गो नभएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए ।

बाक्लो कुहिरो लाग्ने गरेकाले ‘भिजिविलिटी’ कमजोर रहेको जनाइएको छ । विमानस्थलका सूचना अधिकारी भण्डारीका अनुसार हिजो साँझ बुद्ध एयरको एउटा विमानले मात्र काठमाडौँका लागि उडान भरेको थियो ।

हिजोका अरु सबै उडान रद्द भएका थिए । उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिनेमा बुधवार भिजिविलिटी एक हजार मिटर मात्र पुगेको थियो ।

विराटनगरबाट काठमाडौँका लागि दैनिक बुद्ध एअरको ७, यति एयरलाइन्सको ५, श्री एयरलाइन्सको ३ र सौर्य एयरलाइन्सको एउटा गरी १६ वटा उडान हुने गरेको छ ।

विराटनगरबाट हुने ताप्लेजुङलगायत गन्तव्यका उडान भने प्रतिकूल मौसमका कारण नियमित रूपमा केही समयका लागि बन्द गर्ने विमानस्थलले निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस