अघि बढ्यो वर्षौँदेखि थन्किएका गाडीको लिलामी प्रक्रिया « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अघि बढ्यो वर्षौँदेखि थन्किएका गाडीको लिलामी प्रक्रिया


२५ पुस २०८०, बुधबार


रौतहट । गौर भन्सार कार्यालयले लामो समयदेखि थन्किएर रहेका सवारी साधनको लिलामी प्रक्रिया अघि बढाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सारमा दाखिला गरेका दुई पाङग्रे र चार पाङग्रे सवारी साधनको लिलाम प्रक्रिया अघि बढाएको गौर भन्सार कार्यालय जनाएको छ ।

२०७५ सालदेखि अलपत्र अवस्थामा थन्किएका दुई हजार भन्दा बढी सवारी साधनको समयमा लिलाम नगरिँदा कवाडी बनेको आरोप लागेपछि भन्सार कार्यालयले लिलाम प्रक्रिया अघि बढाएको जनाएको छ । भन्सार कार्यालयका अनुसार, कार्यालय परिसरमा रहेका गाडीको चालु आर्थिक वर्षमै लिलाम गर्ने गरी प्रक्रिया अघि बढाइएको हो ।

लिलामका लागि अहिले गाडीको ‘इन्जिन’ तथा ‘चेचिस’ नम्बर टिप्ने कार्य भइरहेको भन्सार कार्यालयका सूचना अधिकारी रेवतीराम रोक्काले बताए । गाडीको अवस्थाको आधारमा इन्जिनियरले मूल्याङ्कन गरेपछि मात्र लिलामको लागि सूचना प्रकाशित गराइने सूचना अधिकारी रोक्काले बताए ।

विगत पाँच वर्षको अवधीमा ६० वटा भन्दा बढी चार पाङग्रे र दुई हजारभन्दा बढी दुई पाङग्रे सवारी साधन थन्किएको गौर भन्सार कार्यालयको तथ्यांक छ । भन्सार कार्यालयले समयमै लिलाम प्रक्रिया अघि नबढाउनका कारण राजस्व समेत प्रभावित भएको स्थानीयको गुनासो छ ।

गौरका युवा नेता रेवन्त झाले सवारी लिलाममा ढिलाइ हुँदा जिर्ण अवस्थामा पुगेकाले अव मूल्याकंन समेत कम हुने बताए । बरामद गरिएको सवारी साधन अलपत्र र अव्यवस्थित अवस्थामा रहेको कारण घाम, वर्षा, शीत, डुबानलगायतले जिर्ण भएको र पाट पुर्जा समेत चोरी भएकाले मूल्याकंन कम हुँदा राजस्वमा कमी आउने उनको तर्क छ ।

पर्याप्त कर्मचारी नहुँदा बरामद सवारी साधनको अभिलेख राख्न र लिलाम गर्न नसकेको भन्सार कार्यालयले जनाएको छ । लिलामी प्रक्रियाबाट कति राजस्व संकलन वा असुल हुन्छ अहिले नै एकिन गर्न नसकिने भन्सार कार्यालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस