पार्टी छाडेको १ वर्षपछि राजु गुरुङले दिए राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पार्टी छाडेको १ वर्षपछि राजु गुरुङले दिए राजीनामा


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । करिब १ वर्ष अगाडि सामाजिक सञ्जालमा पार्टी छाडेर स्वतन्त्र बसेको घोषणा गरेका रुपन्देहीका राजु गुरुङले मंगलबार नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जालबाट एक वर्षअघि पार्टीको सबै पद त्यागेर स्वतन्त्र भएको घोषणा गरेका गुरुङले आज लिखित राजीनामा सार्वजनिक गरेका हुन् ।

उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा बुझाएको जनाएका छन्। उनले अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजीनामा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । “जीवनमा न त कहिल्यै चिरउरीको अपेक्षा नै गरेँ, न त कहिल्यै कसैको चिरउरी नै गरेँ ” राजीनामासहित उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

राजीनामा पत्रमा उनले पार्टीको सदस्यता र पार्टीले आफूलाई सुम्पेको केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटी सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

पत्रकारसँग कुरा गर्दै गुरुङले पहिले फेसबुकबाट पार्टी छाडेको र अहिले लिखित राजीनामा दिएको बताए । उनले पार्टी केन्द्रको छैटौँ बैठकबाट पार्टीमा आफ्नो फरक मत रहेको उल्लेख गर्दै फरक मतको सम्बोधन नभएपछि पार्टीको सदस्यसमेत नरहने गरी लिखित राजीनामा दिएको बताए ।

गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बनेका थिए । तर निर्वाचन आयोगले कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस