१२ करोड ३५ लाख अपचलन गरेको आरोपमा रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१२ करोड ३५ लाख अपचलन गरेको आरोपमा रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ


२३ पुस २०८०, सोमबार


काठमाडौँ । रियल गोर्खा बचत तथा ऋण सहकारीको रकम हिनामिना गरी फरार रहेको आरोपमा प्रहरीले अध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सहकारीका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए। ३१ वर्षीय अध्यक्ष कठायत डोटी शिखर नगरपालिका-७ का हुन्। सदस्य ओझा भने काभ्रे धुलिखेल नगरपालिका-११ का हुन्।

उनीहरूलाई सिआइबीले गत बुधबार नै पक्राउ गरेको थियो। यसबारे सोमबार मात्रै सार्वजनिक गरेको हो। एसपी अधिकारीका अनुसार सिआइबीमा प्राप्त जाहेरीअनुसार उनीहरूले १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ बचत रकम अपचलन गरी हिनामिना गरेको आरोप छ।

यस सहकारीको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका-३२ तिनकुनेमा छ। यसको जोरपाटी र भक्तपुरमा रहेका शाखा कार्यालयका सञ्चालक समिति सदस्यहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याज दिन्छु भनेर प्रलोभन देखाएर रकम फिर्ता नदिएको आरोप छ। सिआइबीले यस सहकारीबाट पीडित निक्षेपकर्ताहरू सम्पर्कमा आउन पनि अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस