आज चार वटा संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के हुँदैछ छलफल ?  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज चार वटा संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के हुँदैछ छलफल ? 


२२ पुस २०८०, आइतबार


काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सोह्रौँ पञ्चवर्षीय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल हुने छ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको बाँके जिल्लाहरूमा गरिएको बजार अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० लाई समिति समक्ष पेस गर्ने र गण्डकी प्रदेशको कास्की पोखरा र स्याङ्जा  जिल्लाहरूमा गरिएको बजार अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० लाई समिति समक्ष पेस गर्ने कार्यसूची छ । 

बिहान ११ बजेबाट सुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने छ ।

बिहान साढे ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्याब्सन, एनप्याब्सन र हिसान तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस