कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु


२१ पुस २०८०, शनिबार


कञ्चनपुर । यहाँ आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत सङ्घसंस्थाले जलपन्छी गणना थालेका हुन् ।

जलपन्छी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले राससलाई बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ ।

निकुञ्ज बाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपन्छी गणना हुने चराविज्ञ डगौराले बताए । जलपन्छी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जिपिएस’सहितको क्यामेराको प्रयोग गरिने छ ।’हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रुपमै गणना हुन्छ’, उनले भने, ‘स्थलगत रूपमा हिँडेर पुग्न नसकिने ठाउँमा डुङ्गा र हात्तीमा चढेर जलपन्छी गणना गर्छौं ।’ 

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपन्छी गणना हुँदै आएको छ । गणनाका क्रममा तालतलैयामा जलपन्छीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्थाबारे अध्ययन हुनेछ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सिमसार क्षेत्र तथा ताल तलैया, नदी तथा जलाधार क्षेत्रमा जलपन्छी गणनको कार्य हुने डगौराले जानकारी दिए । 

कञ्चनपुरका सिमसार तथा जलाधार क्षेत्रमा प्रत्येक वर्षको हिउँदमा ५५ देखि ६० बढी प्रजातिका चरा बसाइँ सरेर साई बेरियालगायत उत्तरी ध्रुवबाट बसाइँ सरेर आउने गरेका छन् । रैथाने प्रजातिका जल पन्छीसमेत यहाँ रहेका छन् । उनका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाइँ सार्दै पाहुना जलपन्छी यहाँका सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन् ।

चैतदेखि जेठसम्म पुनः पन्छी साई बेरियालगायत क्षेत्रमा फर्कने गरेका छन् । नेपालमा आठ सय ७७ प्रजातिका चरा पाइने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा मात्रै रैथाने प्रजातिका चार सय २३ प्रजातिका चरा पाइने गरेका छन् । नेपालमा सन् १९८७ देखि नियमित रूपमा जलपन्छी गणना हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस