काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म हुनेछ ।
प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानका साथै सिद्धार्थ रंगशाला भैरहवामा हुनेछन् ।
प्रधानमन्त्री कप पुरुष क्रिकेटमा त्रिवि मैदानमा फाइनलसहित सर्वाधिक १८ खेल हुनेछ । मुलपानी मैदानमा १७ खेल हुनेछ भने भैरहवा मैदानमा ११ खेल हुनेछ ।
सात प्रदेश र ३ विभागीय टिमहरू सहभागी हुने प्रतियोगिताका खेल राउण्ड रोबिन लिगका आधारमा हुनेछन् । क्यानले यसअघि सेमिफाइनल दुई दिवसीय र फाइनल तीन दिवसीय गर्ने भनेको थियो ।
तर राष्ट्रिय टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहने भएकाले प्रधानमन्त्री कपका सबै खेल एक दिवसीय हुनेछ । शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।
प्रधानमन्त्री कपको शीर्ष चार टिमले आगामी चैत-वैशाखमा एलिट ट्रफी खेल्ने क्यानको वार्षिक क्यालेन्डरमा नै उल्लेख छ ।
