गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा इन्जिनियर गुप्ता दोषी ठहर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा इन्जिनियर गुप्ता दोषी ठहर


१८ पुस २०८०, बुधबार


काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अवकाशप्राप्त इञ्जिनियर काशीप्रसाद गुप्तालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गुप्तालाई ९ महिना कैद हुने फैसला गरेको हो ।

१६ करोड ७२ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग लागेका उनलाई विशेष अदालतले २ करोड १६ लाख गैरकानुनी आर्जन गरेका ठहर गर्दै त्यति सम्पत्ति जफत गर्न आदेश दिएको छ । थप २ करोड १६ लाख रुपैयाँ जरिवाना हुने आदेशसमेत गरेको विशेष अदालतले जनाएको छ ।

२५ भदौ २०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण विभागका अवकाशप्राप्त सिनियर डिभिजनल इञ्जिनियर काशीप्रसाद गुप्ता र उनकी पत्नी मिता गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले उनीहरूको सम्पत्ति लुकाएको आरोपमा अन्जुकुमारी महतो, उदितनारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धीरजकुमार गुप्ता, प्रितिकुमारी गुप्ता, डा. रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ता विरुद्ध समेत मुद्दा दायर गरेको थियो ।

काशीबाहेक अरु आरोपितले सफाइ पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस