इलामको रोङमा व्यावसायिक मौरीपालन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इलामको रोङमा व्यावसायिक मौरीपालन


१८ पुस २०८०, बुधबार


इलाम ।  इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ । 

रोङ वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेको छ । करिब ४० वटाका दरले पाँच वटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गरेका उनले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताए । “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन, उत्पादनको पाँच प्रतिशतमात्र घारका लागि खर्च गरियो भने मौरी फस्टाउँछ,” उनले भने । मह बिक्री गर्न समस्या छैन । व्यापारी घरमै आइपुग्छन् । घरबाट नै प्रतिकिलो रु एक हजार पाँच सयका दरले मह बिक्री हुँदै आएको उनले बताए। उनले वार्षिक दुई सय ५० किलोसम्म मह उत्पादन गर्दै आएका छन् । 

अर्का मौरीपालक किसान प्रेमबहादुर राईले वार्षिक करिब एक सय किलो मह उत्पादन गर्छन्। तीस आधुनिक घारमा मौरीपालन पालेका राई व्यावसायिक महबाटै आत्मनिर्भर भएको बताउछन् । मह उत्पादनमा गाउँपालिका नै लागि परेपछि स्थानीयले यस व्यवसायतर्फ आकर्षित भएका हुन् । मौरी पालनलाई गाउँपालिकाको पहिचानका रूपमा स्थापित गर्न कार्यक्रम नै अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)ले बताए । 

सुरुमा मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि रु ११ लाख छुट्याए पालिकाले दोस्रो वर्ष २० लाख बजेट छुट्याएको थियो । उक्त बजेटमा किसानले आधुनिक मौरीपालनको सीप सिक्ने, अनुदानमा घार प्राप्त गर्ने अवसर पाएको बताइएको छ  । यसैबीच गुणस्तरीय मह उत्पादन गरेर महको आफ्नै ‘ब्रान्ड’ बनाउने गरी योजना ल्याएको गाउँपालिकाले मह उत्पादन गर्ने किसानको पालिकास्तरीय समिति गठन गरेको छ । 

सबै वडाका मौरीपालक किसानको भेलाले केशवप्रसाद लुइँटेलको संयोजकत्वमा पालिकास्तरीय मौरीपालक कृषि सञ्जाल समिति गठन गरेको छ ।  नौ सदस्यीय समितिको सदस्य-सचिवमा रोङ गाउँपालिका कृषि शाखाका तीर्थराज देवकोटा हुनुहुन्छ । सदस्यहरूमा लीलानाथ भण्डारी, मानसिंह तामाङ, दुर्गा तिम्सिना र दाबा स्याङ्बोलगायत रहेको नवगठित समितिका संयोजक लुइँटेलले बताए । 

गाउँपालिका अध्यक्ष  स्याङ्बो र उपाध्यक्ष विष्णुमाया भुजेलको उपस्थितिमा तदर्थ समिति गठन गरिएको जनाउँदै संयोजक लुइँटेलले यसअघि पालिकाका सबै वडामा मौरीपालक किसानको वडास्तरीय सञ्जालसमेत गठन भइसकेको बताए। वडा १ को संयोजकमा टीका नेचाली राई, वडा २ को संयोजक लीलाधर भण्डारी, ३ मा गीता अर्याल, ४ मा मानसिंह तामाङलगायत रहेका छन् । 

चालु आर्थिक वर्षमा व्यावसायिक मौरीपालनका लागि पालिकाले रु ५० लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको अध्यक्ष स्याङ्बोले जानकारी दिए । 

पर्यावरणीय सन्तुलन कायम गर्न मौरीले राम्रो भूमिका निर्वाह गर्दछ । यसको परागसेचनले तरकारीबाली फल्नसमेत मद्दत गर्ने भएकाले पनि मौरी जोगाउन लगानी गरेको गाउँपालिका उपाध्यक्ष  भुजेलको भनाइ छ । मौरी विकास केन्द्रबाट मह तथा मौरीका घार साथै मौरीसमेत बिक्री वितरण गर्ने र आम्दानीको स्रोत बढाउने उद्देश्य गाउँपालिकाले लिएको उपाध्यक्ष भुजेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस