कोरियाले भन्यो-नेपालमा भाषा परीक्षा संवेदनशील बन्दै गयो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोरियाले भन्यो-नेपालमा भाषा परीक्षा संवेदनशील बन्दै गयो


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । कोरियाले भाषा परीक्षासम्बन्धी उत्पन्न पछिल्लो विवाद र त्यसलाई लिएर शुक्रबार बालकुमारीमा भएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ ।

नेपालका लागि कोरियन राजदूत पार्क टी योङको टोलीले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी सहितका अधिकारीहरूलाई भेटेका थिए । उनीहरूले कोरियन सरकारका कारण भाषा परीक्षाबारे विवाद उत्पन्न भएको सन्देश नजाओस् भन्नेतर्फ सचेत गराएका छन् ।

कोरियाली पक्षले नेपालस्थित दूतावास र कोरियाको मानव संशाधन विकास विभागका अधिकारीहरूलाई नेपालमा काम गर्न सुरक्षा जोखिम देखिएको बताएको छ । यसले नियमित कार्यसम्पादनमा समेत असर पुग्ने कोरियाली पक्षको गुनासो थियो ।

पछिल्लो विवादबारे संयुक्त प्राविधिक समूहमा छलफल गरेर टुङ्गो लगाउनुपर्ने धारणा कोरियाली अधिकारीहरूको छ ।कोरियासँग भएको श्रम समझदारीअनुसार श्रम सम्बन्धी समस्या र सवालबारे निर्णय गर्न सहसचिवस्तरको प्राविधिक समितिको बैठक बस्न सक्छ । नेपाली श्रमिकलाई रोजगार अनुमति प्रणाली (ईपीएस)को कोटामा उच्च प्राथमिकता दिएको भन्दै कोरियाली अधिकारीहरूले १३ पुसको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सन् २०२३ को पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिएका ३१ हजार भन्दा बढीले उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने माग गर्दै आन्दोलन गरेका थिए । यसक्रममा भएको झडपमा २ जना युवाको ज्यान गएको थियो । यो घटनाले भाषा परीक्षाका सन्दर्भमा नेपाल संवेदनशील बन्दै गएको देखाएको भन्दै कोरियाली पक्षले समस्या क्रमसँग समाधान हुने बताएका छन् । प्रणाली र पूर्वाधारको सीमितताका कारण परीक्षामा सहभागी कम गराउनु परेको भन्दै कोरियाली पक्षले देखिएका समस्याहरू क्रमशः सल्टाउँदै जाने पनि बताएको छ ।

जवाफमा श्रम सचिव भण्डारीले कोरियाली पक्षलाई सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । कोरियाली सरकारसँगको जोडिएको मुद्दामा घटना हुन पुगेको भन्दै उनले अवस्था सामन्यउन्मुख भइसकेकाले ढुक्क भएर नियमित काम गर्न सकिने बताए । सचिव भण्डारीले परीक्षार्थीको संख्या बढ्दै गएकाले त्यसतर्फ पनि सोच्नुपर्ने अवस्था आएको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस