‘धरान उत्सव’ आयोजना गर्दै धरान उपमहानगरपालिका « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

‘धरान उत्सव’ आयोजना गर्दै धरान उपमहानगरपालिका


१६ पुस २०८०, सोमबार


काठमाडौँ । धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा ‘उत्सव’ आयोजना गर्ने भएको छ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आज एक सूचना जारी गर्दै पुस २० देखि २४ गतेसम्म आयोजना हुने ‘धरान उत्सव’ मा सहभागी बन्न नगरवासीमा आग्रह गरेका छन्। 

उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते हिमालय पेट्रोलपम्पदेखि तीनकुनेसम्म सरसफाइ गर्ने भएको छ।

पुस २० गते विभिन्न सङ्घसंस्थाका झाँकी र र्‍यालीले बजार परिक्रमा गरेपछि धरान–१२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा उत्सवको उद्घाटन गर्ने कार्यक्रम छ।

पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, २२ गते विद्यालय स्तरीय खेलकुद प्रतियोगिता, लोकदोहोरी कार्यक्रम र वाकाथुन कार्यक्रम रहने छन् भने २३ गते श्रमदाता र्‍याली र झाँकी प्रदर्शन तथा २४ गते रस्सीतान प्रतियोगिता, लगानी गोष्ठी आयोजना गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले जानकारी दिए। उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रूपमा मनाउने गरेको छ।

कार्यक्रम अवधिभर एम्बुलेन्ससहित स्वास्थ्य सेवा, पोषण परामर्श, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रचारका साथै मनोरञ्जनात्मक नृत्य तथा सांस्कृतिक कार्यक्रम र बाल मनोरञ्जनका खेलहरू आयोजना गरिने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस