माइतीघरको निषेधाज्ञा तत्काल हटाउन गगनको आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माइतीघरको निषेधाज्ञा तत्काल हटाउन गगनको आग्रह


१६ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँको माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन् । आज सोमवार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको भन्दै तत्काल हटाउन गृहमन्त्रीलाई आग्रह गरे ।

उनले भने, ‘माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ । हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेन्ट हो । उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो । हिजो हामीले त्यही गरेको हो । तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । लोकतन्त्रमा माइतीघरलाई एउटा ठाउँ बनाएको हो । माइतीघरमा निषेधाज्ञाको औचित्य छैन, तत्काल खारेज गर्न अनुरोध गर्छु ।’

बैठकमा महामन्त्री थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताए । आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापर्बाह भएको उनले बताए । लापर्बाह गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ ।

थापाले बालकुमारी घटनामा श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए । उनले साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापर्बाह भएको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस