बुटवल-पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बुटवल-पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने


१६ पुस २०८०, सोमबार


काठमाडौँ । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ ।

सुरुङ मार्ग आयोजनाले एक सूचना जारी गर्दै सोमबार रातिदेखि आगामी फागुन ७ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको जनाएको हो ।

पहिलो चरणमा झण्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर सुरुङ खन्न लागिएको हो । यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक बन्द नहुने सिद्धबाबा सुरुङमार्ग आयोजनाले निकालेको सूचनामा उल्लेख छ ।

सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक/दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड राति बन्द हुने भएको हो ।

एम्बुलेन्स, दमकललगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइएको छैन । सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गर्दैछ । निर्माणका क्रममा यातायात सञ्चालन हुँदा माथिबाट ढुङ्गा खसेर जोखिम हुने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको योजना कार्यालयले जनाएको छ ।

सडक बन्द हुने समयमा साना सवारी साधनहरू बेलबास-नुवाकोट-दोभान वैकल्पिक मार्ग भएर आवतजावत गर्न सक्ने सुरुङमार्ग योजना कार्यालयले जनाएको छ ।

सडक बन्द हुने समयमा पाल्पाबाट बुटवलतर्फ आउने सवारी साधनहरू तिनाउ गाउँपालिकाको जडिबुटीचोक र सत्यवती जाने बाटोमा र बुटवलबाट पाल्पा जाने सवारी साधनहरू बुटवलको चिडियाखोला र तल्लो सिद्धबाबामा रोकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस