छिमेकी राष्ट्रहरूको प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्नेमा मन्त्री शर्माको जोड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

छिमेकी राष्ट्रहरूको प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्नेमा मन्त्री शर्माको जोड


१० पुस २०८०, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरूको प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताएकी छन् ।

बेल्ट एण्ड रोड इनिसियटिभको १०औँ वार्षिकोत्सव तथा नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८औँ वार्षिकोत्सवको अवसर पारेर नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयमा साउथ एसिया नेटवर्क टेलिभिजन मिडिया ग्रुपले आयोजना गरेको दोस्रो चाइना-नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले उक्त धारणा राखेकी हुन् ।

उनले छिमेकीको विकासबाट नेपालले लाभ लिइरहेको र यसलाई गुणात्मक रूपमा बढाउनुपर्ने बताइन् ।

‘चिनियाँ सहयोगमा नेपालमा महत्त्वपूर्ण आयोजनाहरू अघि बढ्ने हाम्रो अपेक्षा छ । नेपाल-चीन सीमापार रेलमार्ग, केरुङदेखि काठमाडौँ-लुम्बिनी रेलमार्ग जस्ता आयोजनाहरू अघि बढ्न सकेको खण्डमा यसबाट नेपालको समृद्धिमा नयाँ आयाम थपिनेछ’, मन्त्री शर्माले भनिन्, ‘छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सञ्चालन गर्ने विभिन्न परियोजनाहरूमा नेपाल राष्ट्र हित अनुकूल हुने गरी सामेल हुँदै आएको छ ।’

संसारमै सबैभन्दा धेरै जनसङ्ख्या भएको चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले तीमध्ये वर्षेनी केही प्रतिशतमात्रै गौतम बुद्धको जन्मस्थल नेपाल आउने वातावरण बनाउन सकियो भने नेपालको पर्यटन प्रवर्द्धनमा कायापलट हुने उनले विश्वास व्यक्त गरिन् ।

नेपाल र चीनबीचको व्यापारदर बढाउनुपर्ने र नेपालले वर्षौँदेखि व्यहोर्दै आएको व्यापार घाटा कम गर्न चीनसँगको व्यापार सहयोगी बन्ने नेपालको अपेक्षा रहेको उनले औँल्याइन् ।

सञ्चारमन्त्री शर्माले जनताको अवस्थामा गुणात्मक परिवर्तन ल्याउनु सरकारको उद्देश्य रहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस