असार मसान्तसम्म पुराना मुद्दा फर्छ्यौट गरिसक्ने विशेष अदालतको लक्ष्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

असार मसान्तसम्म पुराना मुद्दा फर्छ्यौट गरिसक्ने विशेष अदालतको लक्ष्य


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । विशेष अदालतले बाँकी रहेका पुराना मुद्दाहरू आगामी असार मसान्तसम्म फर्छ्यौट गरिसक्ने लक्ष्य राखेको छ ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले बाँकी रहेका ३५९ पुराना मुद्दा असार मसान्तसम्म सकिसक्ने कार्ययोजनाअनुसार काम गरिरहेको बताएका हुन् ।

उनले अदालतले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरू पनि असारमसान्तसम्म ५० प्रतिशत फर्छ्यौट गरिसक्ने कार्ययोजना रहेको बताए । उनले गत साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएको बताए ।

उनले अघिल्लो आर्थिक वर्ष अर्थात् असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान रहेको बताए । उनले जम्मा लगत भनेको अहिले विशेष अदालतमा ४३४ थान मुद्दा रहेको पनि बताए । जसमध्ये १२३ थान (२८.३४प्रतिशत) फर्छ्यौट भएको थियो। उनले बाँकी मध्ये पनि विशेष अदालतमा २ वर्ष नाघेका मुद्दा ७२ थान रहेकोमा अहिले थान सकिएर ७० थान रहेको बताए ।

विशेष अदालतमा रहेका मुद्दामध्ये गैरकानूनी सम्पत्ति आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पत्ति शुद्धीकरणका मुद्दा २९ रहेको बताए । साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फर्छ्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फर्छ्यौट भएको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरले विशेष अदालतमा पनि चाँडै नै मुद्दाहरूको अनलाइन दर्ता सुरु गर्ने बताए । उनले सेवाग्राहीको खर्च, समय, श्रोतमा कमी ल्याउनको लागि भर्चुअल हेयरिङ सुरु गर्ने योजना अघि सारिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस