‘हामी सच्चिन्छौँ, लोकतान्त्रिक गणतन्त्र हल्लाउन खोज्नेविरुद्धमा सिङ्गो मधेश जुरुक्क उठ्नुपर्छ’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘हामी सच्चिन्छौँ, लोकतान्त्रिक गणतन्त्र हल्लाउन खोज्नेविरुद्धमा सिङ्गो मधेश जुरुक्क उठ्नुपर्छ’


५ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन खोज्नेहरूविरूद्ध सिङ्गो मधेश जुरुक्क उठ्नुपर्ने बताएका छन्।

बिहीबार जनकपुरधाममा भएको काँग्रेस मधेसको पहिलो सम्मेलन उद्घाटन सत्रमा बोल्दै खड्काले नेताहरूका बोली र व्यवहारमा गुनासा भए सच्याउन तयार रहेको बताए।

‘जनताले हालेको मतबाट आफ्नो मुलुकको शासन आफैँले गर्ने अधिकार भएको संविधानका विरुद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने, हामीसँग गुनासो मेट्ने बेला आउँछ। हाम्रा कमजोरी सच्याउन तयार छौँ। काम र बोली बचन सच्याउन तयार छौँ। त्यसका लागि सङ्कल्प गर्न तयार छौँ,’ उनले भने, ‘तर त्यसका कारणले, हामीसँगका गुनासाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन खोज्नेहरूका विरुद्धमा सिङ्गो मधेस जुरुक्क उठ्नुपर्छ।’

मधेशले अहिलेको व्यवस्था रक्षा गर्नुपर्ने पनि उनले बताए। ‘संविधान रक्षा र यो व्यवस्था रक्षाका लागि मधेसले एकताबद्ध भएर अहिलेका चुनौती सामना गर्नुपर्छ,’ उनले भने। सङ्घीयतासँग जोडिएका कानुन बनाउन ढिलाइ भएको उनले स्वीकार गरेका छन्।

‘प्रदेशका अधिकारसँग जोडिएका कानुन तत्काल निर्माण गर्ने तयारीमा संघीय सरकार छ,’ उनले भने, ‘संघीय निजामती, प्रहरी ऐनहरू आउँदो हिउँले अधिवेशनसम्म पारित गर्नेछौँ।’

उपसभापति खड्काले घमण्डलाई त्याग गरेर पार्टी एकढिक्का बनाउनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस